भोजपुरमा महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

33 Shares

भोजपुर – टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशील र आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ। गृहणी महिलाहरूलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी तरकारी खेतीजस्ता व्यावसायिक सीप प्रदान गरी उद्यमशीलतामा जोड्ने पहल गरिएको छ।

गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईका अनुसार ‘महिला लक्षित कार्यक्रम’ अन्तर्गत आवश्यकताका आधारमा सीप प्रदान गर्दै उद्यममा संलग्न गराइएको छ। २७ महिलालाई अचार बनाउने सीप सिकाइएको छ भने नौ वटै वडाका महिलालाई बाह्य प्रशिक्षकमार्फत तालिम दिइएको छ।

सात दिने तालिमपछि व्यावसायिक बन्ने आत्मविश्वास बढेको स्थानीय महिलाहरू बताउँछन्। नागीकी सम्झना राईले अचार उत्पादन गरी आत्मनिर्भर बन्ने योजना बनाएको उल्लेख गरिन्। प्रशिक्षक सकुन्तला प्याकुरेलका अनुसार अमला, अकबरे खुर्सानी, लप्सी लगायत ११ प्रकारका अचार बनाउने तालिम दिइएको छ।

व्यावसायिक अचार उत्पादनका लागि स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै बजार विस्तार गर्ने योजनासमेत रहेको प्रशिक्षक प्याकुरेलले जानकारी दिइन्। ब्रान्डिङ र प्याकेजिङको व्यवस्थापन गर्न सके अचारलाई देश-विदेशमा निर्यात गर्न सकिने उनको भनाइ छ।

सम्बन्धित समाचार

सबै