लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित सात हजार दीप प्रज्ज्वलन गरिएको छ। चौथो त्रिपिटक पाठ समारोहको समापनपछि शनिबार साँझ लुम्बिनी स्क्वायरमा दीप प्रज्ज्वलन गरिएको हो।
धम्मकाय फाउन्डेसनले भिक्षु-भिक्षुणी, लामा गुरु, आनी, उपासक-उपासिका र पाँच सय अल्पकालीन प्रवजित भिक्षुहरूको सहभागितामा शान्ति र सौहार्दताको प्रतीकस्वरूप दीप प्रज्ज्वलन गरेको हो। नेपालको झण्डालाई केन्द्र भाग मान्दै धम्मचक्रको आकारमा दीप प्रज्ज्वलन गरिएको थियो।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध जन्मस्थलमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु महत्वपूर्ण रहेको बताए।
सम्पन्न भयो त्रिपिटक पाठ समारोह
बुद्ध जन्मस्थल लुम्बिनीमा चार दिनसम्म सञ्चालन भएको चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह शनिबार सम्पन्न भएको छ। अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषलगायत विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो।
समारोहको समापन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरे। उनले बुद्धका उपदेशहरूलाई आत्मसात् गर्दै शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन आग्रह गरे।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवर्द्धन र बुद्ध शिक्षाको अन्तर्राष्ट्रियकरणमा टेवा पुगेको बताए। कार्यक्रममा सहभागी बौद्ध धर्मगुरुहरूले बुद्धको शिक्षालाई विश्वभर फैलाउन यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रम महत्वपूर्ण हुने धारणा व्यक्त गरे।