
काठमाडौं – पोखरामा एक साता बसेर पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौं फर्किंदै छन्। उनलाई स्वागत गर्न राजावादी शक्तिहरूले विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्।
राप्रपा, राप्रपा नेपालसहितका राजावादी दल र संघ–संस्थाले पूर्वराजाको स्वागतमा विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गर्ने योजना बनाएका छन्। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङलगायतका क्षेत्रबाट तीनकुने र गौशालामा भेला भएर विमानस्थलसम्म जाने कार्यक्रम तय गरिएको छ।
यसैबीच, दुर्गा प्रसाई नेतृत्वको अभियान र राप्रपा नेपालले पनि कार्यकर्तालाई विमानस्थल पुग्न आह्वान गरेका छन्। ठूलो संख्यामा राजावादी समर्थकहरू सडकमा आउन सक्ने आँकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको मार्गलाई संवेदनशील क्षेत्र मान्दै सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखिएको छ।