
काठमाडौं – भोलिदेखि देशमा नयाँ मौसमी प्रणाली प्रवेश गर्ने भएकाले वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। पश्चिमी क्षेत्रबाट भित्रिने प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भूभागसम्म मौसम प्रभावित हुने मौसमविद् धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
उहाँका अनुसार सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपातको सम्भावना छ भने अन्य भूभागका केही स्थानमा पनि वर्षा हुन सक्छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहँदा चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिना पर्ने सम्भावना भएकाले सतर्क रहन उहाँले सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार भोलि पश्चिमी क्षेत्रबाट वर्षा गराउने प्रणाली प्रवेश गर्नेछ। यद्यपि, प्रणाली धेरै बलियो भने नरहेको उहाँले बताउनुभयो। देशभर प्रि-मनसुनका गतिविधि सक्रिय हुँदै गएकाले दिउँसोतिर स्थानीय वायुको प्रभाव बढ्ने, बदली हुने र केही ठाउँमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो।
यसअघि हिजो बेलुका काठमाडौं उपत्यकामा छिटपुट वर्षा भएको थियो भने इलाम, झापा, खोटाङ, सोलुखुम्बु, दोलखा लगायतका जिल्लामा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको थियो।
आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनसक्ने तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।