
काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अपेक्षा गरिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सफा रहनेछ। मौसम परिवर्तनको प्रभावले जनजीवन, स्वास्थ्य, तथा सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।