‘होस्टेल ३’ देशभर प्रदर्शन, दर्शकमाझ उत्साहजनक प्रतिक्रिया

250 Shares

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ। निर्देशक सशान कँडेलको यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ। हलहरूले बुधबारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए, जसअनुसार शुक्रबार बिहानसम्म हलहरू पूर्ण सोल्ड आउट नभए पनि दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ। वितरकहरूका अनुसार, ‘नन-होलिडे’ रिलिज भए पनि चलचित्रको व्यापार राम्रो हुने अपेक्षा गरिएको छ।

‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करणहरू बक्स अफिसमा सफल भएकाले दर्शकमाझ यो चलचित्र प्रतिक्षित बनेको थियो। युवा पुस्तालाई लक्षित यो चलचित्रमा डिजिटल माध्यमबाट चर्चामा आएका कलाकारहरूको अभिनय छ। पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत मुख्य भूमिकामा छन्। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा देखिएका छन्।

चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएपछि यसबारे चर्चा बढेको थियो। ट्रेलर रिलिज भएको ६ घण्टामै युट्युब ट्रेन्डिङमा परेको थियो भने २१ घण्टामा १० लाख भ्युज प्राप्त गरेको थियो। हालसम्म पनि नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा रहेको ट्रेलर भारत, बेलायत, जापान, कोरिया, मध्यपूर्वसहित २० भन्दा बढी देशमा ट्रेन्डिङमा आएको छ।

माधव शर्माले पटकथा तथा संवाद लेखेका छन् भने उनी एसोसियट निर्देशक पनि हुन्। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्युसर कोसिस राज क्षेत्री छन्।

चलचित्रको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका छन्। एक्सन निर्देशन हिमाल केसीले गरेका छन्। सङ्गीत अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले दिएका छन्। प्रोडक्सन डिजाइन यम ओलीले गरेका छन् भने नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन्।

चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन्।

सम्बन्धित समाचार

सबै