देशभर मौसम बदली, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

266 Shares

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँमा आंशिक बदली भएको छ। तर, मधेश प्रदेशसहित अन्य प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बादल लागेको छ। साथै, कर्णाली, गण्डकी र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा राति हल्का हिमपातको सम्भावना रहेको छ।

देशका धेरै ठाउँमा केही दिनदेखि बढिरहेको अधिकतम तापक्रम मौसम बदलीका कारण आज तुलनात्मक रूपमा घटेको छ। हिजो ३४ डिग्रीसम्म पुगेको भैरहवाको तापक्रम आज २६ देखि २८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

त्यस्तै, जनकपुर, धरान, धनगढी, नेपालगञ्जलगायतका क्षेत्रमा पनि तापक्रम घटेको छ। हिजो २६ डिग्रीसम्म पुगेको काठमाडौँ उपत्यकाको तापक्रम पनि घटेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

सबै