
काठमाडौँ – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (माओवादी केन्द्र)ले ‘जनयुद्ध’ बेचेर खाएको आरोप लगाएका छन्।
बुधबार (फागुन २१) सहिद यदुकुमार गौतमको २६औँ स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले माओवादीले ‘जनयुद्ध’को नामबाट फाइदा उठाएको दाबी गर्दै प्रश्न गरे, “माओवादी हिंसा भन्ने शब्दबाट किन भागिरहेको छ? माओवादबाट किन भागिरहेको छ?”
उनले माओवादी संकटमा परेको भन्दै नाटक गरिरहेको आरोप पनि लगाए। “माओवादको औचित्य समाप्त भइसकेको छ। जनयुद्धलाई ठिक भन्न आज कोही सक्छ?” उनले भने।
गुरुङले गाउँ रित्तिनुको सुरुवात ‘जनयुद्ध’कालबाट भएको टिप्पणी गर्दै सुरक्षाका लागि मानिसहरू सहर छिर्न बाध्य भएको बताए।
उनले राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित भएको उल्लेख गर्दै ‘जनयुद्ध’ गलत भएको तर्क राखे। साथै, माओवादीलाई रुकुम, रोल्पाबाट पराजित नगरे देशमा अस्थिरता कायमै रहने चेतावनी दिए।
कार्यक्रममा २३औँ यदुस्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई प्रदान गरियो।