धुर्मुसको ‘लाज शरणम्’ लुक्स : नेताको होइन, भारतीय व्यापारीको क्यारेक्टर

217 Shares

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का मुख्य कलाकार सिताराम कट्टेल (धुर्मुस)को लुक्स चर्चामा छ । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमसँग तुलना गरिए पनि वास्तवमा उनी नेताको भूमिकामा होइन, भारतीय व्यापारीको भूमिकामा छन् ।

चलचित्रमा ‘चाचा’ नामक व्यापारीको क्यारेक्टरमा देखिएका धुर्मुस अधबैंसे उमेरका छन्, जसले पाइजामा र हाफकोट लगाएका छन् । उनको शरीर वास्तविकभन्दा धेरै मोटो देखिन्छ । यसका लागि उनले न केवल आफ्नो तौल बढाए, बरु चीनबाट विशेष रूपमा हुबहु पेटजस्तो देखिने ९ केजीको सामग्री मगाएर १० केजीसम्मको तौल पेटमै लगाएका थिए ।

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन्, जसमा ‘सक्किगोनि’ टिमका कलाकारहरू अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् । चलचित्र फागुन १४ गते प्रदर्शन भइसकेको छ ।

सम्बन्धित समाचार

सबै