जुम्लाको तिला गाउँपालिका–८, जुम्लाकोटमा रहेको पशुसेवा केन्द्र एक वर्षपछि पुनः सञ्चालनमा आएको छ। कर्मचारी अभावका कारण बन्द भएको सेवा केन्द्रलाई गाउँपालिकाले आइतबारदेखि पुनः सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाले नायब पशु स्वास्थ्य प्राविधिक वीरेन्द्रलाल महतलाई खटाएपछि सेवा सुचारु भएको अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए। दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आएको थियो।
गाउँपालिकाका अनुसार पशु विकास शाखाबाट आवश्यक औषधि उपलब्ध गराइनेछ। नायब पशु स्वास्थ्य प्राविधिक महतका अनुसार हाल केही महत्त्वपूर्ण औषधिको अभाव छ, जसका लागि माग गरिएको छ।
तिला गाउँपालिकाको वडा नम्बर ८ र ९ भेडाबाख्रा पालनका लागि प्रमुख क्षेत्र भएकाले सेवा केन्द्र सञ्चालनमा आउनु पशुपालक किसानका लागि राहत भएको छ। प्राविधिक सहायक पदका लागि लोकसेवा आयोगमार्फत दरबन्दी माग गरिएको गाउँपालिकाले जनाएको छ।