डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका अवैध घरटहरा भत्काएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर्, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रंगपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले वन क्षेत्रमा निर्माण गरिएका ६ वटा अवैध घर, छाप्रा बिहिबार भत्काएर अतिक्रमण हटाइएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले बताए । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको बेला केही व्यक्तिहरूले वन क्षेत्रमा रातारात घर, छाप्रा निर्माण गरी वन क्षेत्र अतिक्रमण गरेकोमा वन क्षेत्र खाली गराउन घर, टहरा हटाइएको प्रमुख साहले बताए । यस बाहेक अन्य ठाउँका अतिक्रमित बन क्षेत्र समेत खालि गराउन कार्यालय लागेको उनले बताए ।
वन संरक्षण तथा अवैध अतिक्रमण नियन्त्रण गर्न आफु सदैव अग्रसर रहदै आएको बताउंदै प्रमुख साहले कुनै पनि बहानामा यस्ता क्रियाकलापलाई छुट नदिइने उनले बताए ।
वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न तथा वन अतिक्रमण नगर्न सर्वसाधारणलाई उनले आग्रह गर्दै नियम कानुनको पुर्ण पालनामा राज्यका हरेक नागरिक सचेत हुनु पर्ने भने ।