
संखुवासभा – भोटखोला गाउँपालिकामा निर्माण हुने १,०६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर लामो पहुँचमार्ग निर्माण कार्य सुरु भएको छ।
आयोजनाका प्रशासन प्रमुख पूर्ण चौहानका अनुसार पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरी २,१०० रुख कटान भइसकेको छ। हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर काम अघि बढाइएको छ। परियोजनाका लागि ४१३ रोपनी जग्गा अधिग्रहण गरिएको छ।
भोटखोला गाउँपालिका–२ र ४ का राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुख कटानका लागि १३ करोड ६५ लाख रुपैयाँ वन विभागमा भुक्तानी गरिएको छ। कटानपछि वैकल्पिक रूपमा अन्य स्थानमा बिरुवा रोपिने छ।
आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउनका लागि सोही रकम वन विभागलाई भुक्तानी गरिसकेको छ। पहुँचमार्गअन्तर्गत अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ। भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ। यसका लागि कुल ७ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ।