पाथीभरामा केबलकार निर्माण तत्काललाई स्थगित, वार्तामा आउन आह्वान

274 Shares

काठमाडौं । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजना तत्कालका लागि स्थगित गरिने भएको छ ।

केबलकार निर्माणको विरोधमा जारी आन्दोलनलाई सम्बोधन गर्न गृह मन्त्रालयद्वारा गठन गरिएको वार्ता टोलीले आज विज्ञप्ति जारी गर्दै निर्माण कार्य हाललाई रोक्ने निर्णय गरेको जनाएको छ । वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा समस्याको समाधान वार्ता र संवादबाट खोजिने उल्लेख छ । साथै, आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको छ ।

‘आन्दोलनरत पक्षले उठाएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याहरूको समाधान वार्ता र संवादको माध्यमबाट खोजिने भएकाले केबलकार निर्माण कार्य हाललाई स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समस्याको शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन अपिल गर्दछु ।’

पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा विवाद उत्पन्न भई अवस्था तनावग्रस्त बनेपछि गृह मन्त्रालयले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच पटक–पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

सम्बन्धित समाचार

सबै