लोकतान्त्रिक व्यवस्थामा जनताको मत नै अन्तिम निर्णायक शक्ति हो। निर्वाचनमार्फत व्यक्त भएको जनमतलाई स्वीकार गर्नु र त्यसको सम्मान गर्नु सबै राजनीतिक दल, नेता तथा कार्यकर्ताको साझा दायित्व हो। अहिले निर्माण हुने सरकारप्रति सकारात्मक सहयोग र रचनात्मक साथ दिनु लोकतान्त्रिक संस्कारको महत्वपूर्ण पक्ष हो । त्यसैले हामीले व्यक्तिगत आवेग, असन्तोष वा राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नै नेता, कार्यकर्ता वा अन्य राजनीतिक व्यक्तित्वमाथि अनावश्यक टीका–टिप्पणी गर्ने प्रवृत्तिबाट टाढा रहनु आवश्यक छ ।
हामी सबैको अन्तिम लक्ष्य कुनै व्यक्ति वा दलको स्वार्थ मात्र होइन, समृद्ध राष्ट्र र सुखी नेपालीको साझा आकांक्षा हो। त्यसकारण सभ्य, अनुशासित र मर्यादित राजनीतिक व्यवहार आजको आवश्यकता हो। देश अप्ठ्यारो परिस्थितिमा परेका बेला एक–अर्काप्रति अविश्वास फैलाउनु भन्दा धैर्य, संयम र जिम्मेवारीका साथ राष्ट्रिय हितलाई केन्द्रमा राख्नु नै उचित हुन्छ ।
अन्त्यमा, विशेषगरी नेकपा एमालेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूले धैर्य, अनुशासन र संगठनात्मक एकतालाई अझ मजबुत बनाउँदै जनताको चाहनालाई सम्मान गर्ने संस्कार देखाउन आवश्यक छ। सामाजिक सञ्जाल वा सार्वजनिक मंचहरूमा असन्तुलित प्रतिक्रिया दिने भन्दा पनि संगठनको आधिकारिक धारणा र राष्ट्रिय हितलाई केन्द्रमा राखेर बोल्ने अभ्यास गर्नुपर्छ । जनताले परिवर्तनको अपेक्षासहित दिएको म्यान्डेटलाई सहर्ष स्वीकार गर्दै,अब बन्ने सरकारलाई रचनात्मक सहयोग गर्ने, आवश्यक परे सशक्त तर सभ्य प्रतिपक्षको भूमिका निर्वाह गर्ने तथा राष्ट्र अप्ठ्यारोमा परेको बेला अग्रपंक्तिमा उभिने जिम्मेवारी एमाले कार्यकर्ताहरूको नै हो। यही धैर्य, संयम र जिम्मेवारीपूर्ण राजनीतिक व्यवहारले मात्रै “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय आकांक्षालाई वास्तविकतामा रूपान्तरण गर्न सक्छ ।
(लेखक नेकपा एमालेकि केन्द्रिय सदस्य हुनु हुन्छ ।)