291
Shares
भोजपुर — भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपजलाई सजिलै बजारसम्म पुर्याउन ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार कृषिमा विशेष जोड दिइएको र व्यावसायिकरूपमा नगदेबाली खेती गर्ने किसानलाई बजारीकरणमा सहजता पुर्याउने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरिएको हो। “अब स्थानीय उत्पादनलाई बाहिरी बजारसम्म पुर्याउन सहज हुनेछ,” उनले भने।
गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायतका नगदेबालीमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले व्यावसायिक कृषिमा लागेकाहरूको हौसला बढाउन ७०० भन्दा बढी किसानलाई कृषि सामग्री वितरण गरिएको जानकारी दिए।
गाउँपालिकाको यो पहलले स्थानीय उत्पादनको मूल्य अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।