काठमाडौं — सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका विभिन्न मागसहित जारी आन्दोलनलाई सम्बोधन गर्न सरकारले पुनः वार्ताको पहल गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई भोलि (२०७८ चैत २७ गते) औपचारिक वार्ताका लागि बोलाएको हो।
यसअघि चैत २१ र २२ गते साझा धारणा निर्माणका लागि छलफलमा बोलाइए पनि शिक्षकहरू वार्तामा सहभागी भएका थिएनन्। मन्त्रालयले पुनः संवादको वातावरण बनाउने प्रयासस्वरूप नेपाल शिक्षक महासंघलाई आमन्त्रण गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “राहत तथा अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीलगायत सबैको प्रतिनिधित्व हुने गरी उपस्थित हुन पुनः आग्रह गरिन्छ।” मन्त्रालयले वार्ताको समय तालिका आपसी सहमति अनुसार तय गरिने पनि उल्लेख गरेको छ।











