झापा । झापामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको धनीपूर्जा पाउन निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले यो जानकारी दिएका हुन् ।
उनका अनुसार आयोगले प्रक्रिया पूरा गरेर छिटो भन्दा छिटो धनीपूर्जा वितरण गर्ने काम तीव्र रुपमा अगाडि बढाइरहेको छ । अध्यक्ष रिजालले भूमिसम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनको अधिकारमाथि खेलवाड गरिएको आरोपसमेत लगाए । उनले वर्तमान आयोगलाई संवैधानिक आयोगका रूपमा परिभाषित गर्दै यसको कार्यकाल तीन वर्ष रहेको बताए ।
कोशी प्रदेश संयोजक एवं आयोगका केन्द्रीय सदस्य अनिलकृष्ण प्रसाईले अबको दुई वर्षभित्र देशभरका करिब १३ लाख सुकुम्बासीलाई धनीपूर्जा वितरण गरिने जानकारी दिए ।
कार्यक्रममा आयोगका झापा अध्यक्ष मदन अधिकारीले विचौलियाको संलग्नता बिना पालिकामार्फत प्राप्त निवेदनलाई प्राथमिकतामा राखी प्रक्रिया पूरा गरी धनीपूर्जा वितरण गरिने बताए ।
यसैगरी, राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ डा. जगतबहादुर वस्नेतले स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई आयोगको जिम्मेवारी तथा भावी कार्ययोजनाबारे जानकारी गराए ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरमा ६ हजार ३३० जना भूमिहीनले धनीपूर्जाका लागि निवेदन दिएको बताउँदै तीमध्ये ५ हजार १५१ जनाले निस्सा प्राप्त गरिसकेको जानकारी दिए । तीमध्ये ३५८ जना भूमिहीन दलित, २ हजार २४६ जना भूमिहीन सुकुम्बासी र ३ हजार ७२६ जना अव्यवस्थित बसोबासी रहेको बताए ।