कास्की । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले पोखरा–३, नदीपुरमा ‘एलिट भलिबल एकेडेमी’ सञ्चालनमा ल्याएकी छन्। तीन जनाको समूहमा सञ्चालन गरिएको एकेडेमीले विशेषतः महिला खेलाडीलाई लक्षित गर्दै नियमित प्रशिक्षण दिँदै आएको छ। शाहीको भनाइमा, विगतमा गण्डकी क्षेत्रले देखाएको भलिबलको साखलाई पुनः स्थापित गर्ने उद्देश्यसहित एकेडेमी अघि बढाइएको हो।
तर, एकेडेमी सञ्चालनमा आर्थिक चुनौती रहेकाले स्रोत जुटाउन चैत २९ देखि वैशाख १ गतेसम्म पहिलो एलिट कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिँदैछ। प्रतियोगिताको संयोजन पनि शाहीकै जिम्मामा छ। प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीको सञ्चालन र महिला खेलाडी उत्पादनमा खर्च गरिने शाही बताउँछिन्।
प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट महिला खेलाडीलाई निःशुल्क प्रशिक्षणसहित पठनपाठनमा छात्रवृत्तिको व्यवस्था गरिनेछ। एकेडेमीले प्रारम्भिक चरणमा उत्कृष्ट दुई महिला खेलाडीलाई यो सुविधा दिने योजना बनाएको छ।
प्रतियोगितामा पुरुष विजेताले रु १ लाख र उपविजेताले रु ५० हजार प्राप्त गर्नेछन् भने महिलातर्फ विजेताले रु ५० हजार र उपविजेताले रु २५ हजार पुरस्कार पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट पुरुष खेलाडीले रु ५ हजार र महिलाले रु ३ हजार पाउने छन्। अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार दिइनेछ।
हालसम्म पुरुषतर्फ ९ र महिलातर्फ ७ टोलीले सहभागिता जनाइसकेका छन्। टिम दर्ता शुल्क पुरुषतर्फ रु ६ हजार ५०० र महिलातर्फ रु ३ हजार ५०० तोकिएको छ। प्रत्येक टिममा राष्ट्रिय वा अन्तरराष्ट्रिय अनुभव भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइनेछ।