माथिल्लो ठूलोखोला ‘ए’ आयोजना निर्माण धमाधम

162 Shares

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडका अनुसार आयोजनाको ७५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ ।

रघुगङ्गा-७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण भइरहेको यो आयोजनाको २२.५ मेगावाट क्षमता रहेको छ । निर्माण कार्यको क्रममा बाँध, विद्युत गृह र पाइपलाइन निर्माणका कार्यहरूको करिब ८० देखि ९० प्रतिशत काम सकिएको वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए । आगामी जेठ मसान्त भित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेर काममा तीव्रता दिइएको छ ।

आयोजनाका लागि देव ऊर्जा कन्स्ट्रक्सन प्रालिले दैनिक दुई सय जनशक्ति परिचालन गरेर काम गरिरहेको छ । आयोजनाका लागि आवश्यक पर्ने उपकरणहरूको ढुवानी र विद्युत गृहमा विद्युतीय उपकरण र सामग्री जडानको काम तीव्रगतिमा भइरहेको छ ।

यो सुरुङरहित आयोजनामा कुल २,८०० मिटर पाइपलाइन जडान कार्य अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा नदीमा बनाइएको बाँधबाट पानी पेनस्टक पाइपलाइन हुँदै विद्युत गृहमा पुगेर विद्युत उत्पादन हुने प्रमुख लोकबहादुर नायकले बताए ।

३ अर्ब लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत लगानी प्रवद्र्धकको रहेको छ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छे बैंकले गर्ने वित्तीय सम्झौतासमेत भएको छ ।

सम्बन्धित समाचार

सबै