बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्ड कालोपत्र सम्पन्न

217 Shares

म्याग्दी – बेनी–दरबाङ सडकअन्तर्गत रणवाङ–तोलावाङ खण्डको कालोपत्र कार्य सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोलादेखि रणवाङ–सहश्रधारा–दुखुखोला–तल्लोदुखु–रातोढुङ्गासम्मको तीन किलोमिटर तीन सय मिटर सडक कालोपत्र गरिएको हो।

माघ १९ गते सुरु गरिएको कालोपत्र कार्य फागुन २७ गते सम्पन्न भएको छ। सो क्रममा सडक फराकिलो पार्ने, पानी निकास, टेवा पर्खाल निर्माण गर्ने, बेस र सबबेस राख्ने काम पनि पूरा गरिएको पौडेलले बताए।

मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरबाङसम्म आठ किलोमिटर सडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ। २०६३ सालमा खुलेको २४ किलोमिटर लामो बेनी–दरबाङ सडकले मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्छ। यसअघि बेनी–सिमसम्म १२.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने सिम–पानाबगर खण्डको चार किलोमिटर काम पनि पूरा भइसकेको छ।

सम्बन्धित समाचार

सबै