बागलुङ : जैमिनी नगरपालिका–३ दमेकका महिलाहरू डेढ वर्षअघि घरका काममा मात्र सीमित थिए। तर अहिले उनीहरू उद्यमी बनेका छन् र आफ्नो बारीमा उत्पादन गरेको सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स लगायतका उत्पादनहरूले उनीहरूको आर्थिक अवस्था सवल बनाएको छ।
एक वर्षअघि जैमिनी नगरपालिकाले दिएको तालिमपछि यहाँका ५५० महिला उद्यमसँग जोडिएका छन्। रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध महिलाहरू गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन्।
रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनका अनुसार, स्थानीय स्रोत साधनलाई प्रयोग गरेर महिलाहरूलाई उद्यमसँग जोड्न तालिम दिएपछि उनीहरू व्यवसायिक बन्न थालेका छन्। पूर्वमा वनजंगल र बारीमा खेर गएका बाँको र सिस्नो आज आर्थिक स्रोत बनेका छन्।
तारा पुनले भनिन्, “पहिले खेर गइरहेका सिस्नो र बाँको अहिले प्याकेजिङ र ब्रान्डिङ गरी बिक्री गर्न थालिएका छन्। सिस्नोको पाउडर बनाउन दुई सातासम्म लाग्छ भने गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ।”
उनका अनुसार, आफैले उत्पादन गरेको सिस्नो पाउडर, बाँको गुन्द्रुक र सिमी जापान र हङकङसम्म निर्यात हुँदै गएको छ। उनले गत वर्ष ४ लाख रुपैयाँको सिस्नो पाउडर, २ लाख रुपैयाँको गुन्द्रुक र २ लाखको सिमी बिक्री गरेको अनुभव सुनाइन्।
जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी बजारीकरण गरिएको बताए। नगरपालिकाले प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि महिलाहरू थप सक्रिय भएका छन्।
महिलाहरूले शुरुमै २० लाख रुपैयाँ लगानीमा प्याकेजिङ मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए। अहिले तिनीहरूको उत्पादनको माग देश र विदेशबाट बढ्दै गएको छ, जसले महिला उद्यमीहरूलाई थप उत्साहित बनाएको छ।