‘होस्टेल–३’ ले तान्यो दर्शक

215 Shares

काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’ हेर्न दर्शकको उत्साह बढ्दै गएको छ। ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले बताएका छन्।

चलचित्र प्रदर्शनपछि दर्शक प्रतिक्रिया लिन कलाकारहरू सहित हल पुगेका निर्देशक कँडेलले ‘होस्टेल ३’ ले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरेका छन्।

‘दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। धेरैले साथीभाइ र परिवारलाई चलचित्र हेर्न सिफारिस गरिरहेका छन्, जसले आइतबारदेखि व्यापार अझ राम्रो हुने अपेक्षा गरिएको छ,’ कँडेलले भने।

दर्शकसँग भेटघाटका लागि कलाकार पारसबम ठकुरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली लगायत चलचित्र भवन पुगेका थिए।

‘होस्टेल ३’ मा युवाको होस्टेल जीवन, टिनएजको उतारचढाव र तन्नेरी पुस्ताको कथा प्रस्तुत गरिएको छ। अभिनेता पारसबम ठकुरीका अनुसार चलचित्रको विषयवस्तु युवाले सहजै महसुस गर्न सक्ने खालको छ।

निर्देशक कँडेलका अनुसार नयाँ पुस्तालाई अघि बढाउने उद्देश्यले ‘होस्टेल ३’ निर्माण गरिएको हो। ‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारलाई स्थापित गराउनुका साथै व्यावसायिक सफलता पनि हासिल गरेको भन्दै उनले नयाँ प्रतिभालाई अवसर दिने प्रयास गरिएको बताए।

सम्बन्धित समाचार

सबै