पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको बताएका छन् ।
शनिबार वीरगञ्जको लालबगलामा आयोजित जनसभामा सम्बोधन गर्दै उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले हालका राजनीतिक दलहरूले देश बर्बाद पारेको र अब राजसंस्था आवश्यक भएको सन्देश दिएको उल्लेख गरे ।
पूर्वराजा शाहको सो सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूले शाहलाई पार्टी खोलेर निर्वाचनमा आउन चुनौती दिएका थिए ।
त्यसप्रति प्रतिक्रिया दिँदै लिङ्देनले राजाले चुनाव लड्ने नभई देशकै राजा हुने बताए । ‘राजाले खोलेका उद्योगधन्दा बन्द गरियो, कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बेचिए, तर अहिले भ्रष्टाचारका अनेक प्रकरणमा नेताहरू मुछिएका छन्,’ उनले भने, ‘अब हामी राजसंस्थालाई पुनःस्थापना गर्न चाहन्छौँ, राजा चुनाव लड्ने होइन, देशकै राजा हुने हो ।’
अध्यक्ष लिङ्देनले हालका राजनीतिक दलहरूले युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन ध्यान नदिएको आरोप लगाए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजीसहितको एजेण्डा राप्रपाले अघि सारेको बताए ।
देशको आर्थिक अवस्था कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले मुलुकभर संकलित राजस्वले राष्ट्र सेवक कर्मचारीको तलब भत्ता व्यवस्थापन गर्न कठिन भइरहेको बताए । एक दशक अघिसम्म मुलुकको बाह्य तथा आन्तरिक ऋण सात खर्बको हाराहारीमा रहेकामा हाल २६ खर्ब नाघेको उल्लेख गर्दै उनले विदेशी ऋणमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताए ।