काठमाडौँ – देशका विभिन्न स्थानमा साहित्यिक उत्सवहरू भइरहेको छन्। यी उत्सवहरूमा कला, साहित्यसँगै समसामयिक राजनीति, अर्थतन्त्र र सामाजिक विषयवस्तुमा छलफल हुने गर्छ।
पोखराको बाराहीघाट, लेकसाइडमा १२औं नेपाल लिटरेचर फेस्टिभल हिजोदेखि सुरू भएको छ। आयोजक बुकवर्म फाउन्डेसनका अनुसार फेस्टिभलमा देश–विदेशका साहित्यानुरागीहरूको उपस्थिति रहेको छ।
धादिङबेसीमा बागमती महोत्सव आजदेखि सुरू भएको छ। दुई दिनसम्म चल्ने महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
काठमाडौंमा पहिलो संस्करणको ‘काठमाडौं उत्सव’ सुरू भएको छ। नेपाल पर्यटन बोर्डको हलमा आयोजना भइरहेको उत्सव भोलिसम्म चल्नेछ। आयोजक अध्यक्ष प्रकाश समीरका अनुसार यसमा साहित्यसँगै काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेको जीवनका कथाहरू समेटिने छन्।
झापाको मेचीनगरमा ‘कला साहित्य उत्सव’ १४ गतेदेखि सुरू भई आज समापन हुँदैछ। यस वर्षको उत्सव ‘पर्यावरण विमर्श’ विषयमा केन्द्रित छ। रिडर्स झापाले देही आर्ट, परिवर्तन थिएटर र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजसँगको सहकार्यमा पूर्वकै ठूलो बौद्धिक तथा कलात्मक मेला आयोजना गरेको हो।
बर्दियाको राजापुरमा ९औं थारु साहित्य सम्मेलन हिजोदेखि सुरू भई भोलिसम्म चल्नेछ। थारु लेखक संघ नेपाल र जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा सम्मेलन भइरहेको छ।
सङ्खुवासभाको मकालु गाउँपालिकामा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव मकालु हिमाल आरोहणको ७०औं वर्षगाँठको अवसरमा भइरहेको छ। १४ गतेदेखि नुम बजारमा सुरू भएको महोत्सव भोलिसम्म चल्नेछ। नेपालसहित भारत, बङ्गलादेश र भुटानका स्रष्टाहरूको सहभागिता रहेको छ।
आगामी २४ देखि २६ गतेसम्म टीकापुर साहित्य महोत्सव हुँदैछ। यसअघि माघ अन्तिम साता जनकपुरमा जनकपुर साहित्य महोत्सव को ६औं संस्करण सम्पन्न भएको थियो, जसको मुख्य विषय ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ रहेको थियो।