काठमाडौं । सिन्धुपाल्चोकमा शुक्रबार बिहान २:५१ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड आसपास केन्द्र भएर गएको भूकम्पले सामान्य क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिएका छन्।
उनका अनुसार हालसम्म मानवीय क्षति भएको सूचना प्राप्त छैन। जिल्ला कारागार कार्यालयमा दुई बन्दी भाग्ने क्रममा घाइते भएका छन्। भाग्ने क्रममा लडेर कैदी स्याङ्बो तामाङको हात भाँचिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। उनलाई उपचारपछि कारागार फर्काइएको छ।
भूकम्पका कारण भोटेकोशी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुक्खा पहिरो खसेको छ। सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी उमाशंकर प्रसाद यादवले क्षतिको विस्तृत विवरण संकलन गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताए।
भोटेकोशी गाउँपालिका–२ की वडासदस्य सुनिता श्रेष्ठका अनुसार भूकम्पपछि स्थानीयहरू घरबाहिर निस्किएका थिए, तर ठूलो क्षति नभएको प्रारम्भिक जानकारी आएको छ।
यस भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।