दैलेखका ८ वटा ठाउँमा ४ महिनाभित्र झोलुङ्गे पुल बन्ने

162 Shares

दैलेख – दैलेखका ८ वटा ठाउँमा अबको ४ महिनाभित्र झोलुङ्गे पुल बन्ने भएका छन् । आठबीस नगरपालिका–१ चिनेखोलामा लयाँटा–झुज, वडा नम्बर ९ को छेपाडी र भकभके भन्ने ठाउँमा १/१ वटा झोलुङ्गे पुल बन्नेछन् ।

महाबु गाउँपालिका–३ बाँसीको तिपेडीमा पनि झोलुङ्गे पुल बन्ने भएकाे छ । भैरवी गाउँपालिका–४ र चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउलामा पनि एउटा झोलुङ्गे पुल बन्ने भएको छ ।

नारायण नगरपालिका–१० भवानीमा त्रिवेणी दोभान, डुङ्गेश्वर गाउँपालिका–३ हनेटा र ठाँटीकाँधको लहरे सुइँयाँमा आउँदो असार १५ गतेअघि नै झोलुङ्गे पुल बनाइसक्ने योजना छ ।

यसका लागि झोलुङ्गे पुल बनाउने तरिका र प्रयोग हुने सामानहरूको प्रयोगात्मक अभ्यास गराउन ८ वटै ठाउँका उपभोक्ता समितिका २/२ पदाधिकारी र १ मिस्त्रीसमेत २८ जनालाई दैलेख सदरमुकाममा झोलुङ्गे पुल निर्माणसम्बन्धी नमूना अभ्यास तालिम दिइएको छ ।

८ वटा झोलुङ्गे पुलका लागि २ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा विस्तृत सर्वेक्षणपछि थप रकम सुनिञ्चित गरिएको र तोकिएको समयमा योजना सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

सबै