नेपालको लोकतान्त्रिक इतिहासमा केही निर्वाचनहरू केवल प्रतिनिधि चयनका औपचारिक प्रक्रिया हुँदैनन, ती राष्ट्रको दिशानिर्देश गर्ने मोड बन्छन्। झापा–५ को वर्तमान चुनाव पनि त्यस्तै मोडको प्रतीक बनेको छ। यहाँको जनमत कुनै क्षणिक उत्तेजना वा भीडको उन्मादबाट होइन, अनुभव, मूल्यांकन र राजनीतिक चेतनाबाट निर्देशित देखिन्छ। त्यसैले आज प्रश्न व्यक्तिको मात्र होइन दिशाको हो ।
केपी शर्मा ओली केवल एक उम्मेदवार मात्र होइनन् ।उनी नेपाली राजनीतिक परिदृश्यमा राष्ट्रियता, स्थायित्व र विकासको बहसलाई मुख्यधारमा ल्याउने नेतृत्वको प्रतीक हुन्। संविधान घोषणाको संवेदनशील क्षणमा देखाएको अडान, नाकाबन्दीका बेला राष्ट्रिय स्वाभिमानको पक्षमा लिएको दृढता, नयाँ नक्सा प्रकाशनमार्फत भू-राजनीतिक आत्मसम्मानको उद्घोष यी सबै कदमहरूले उनलाई सामान्य सत्तानायक भन्दा फरक उचाइमा पुर्याएका छन्। विकासका पूर्वाधारमा देखिएको तीव्रता, सामाजिक सुरक्षा विस्तार, र “समृद्ध नेपाल, सुखी नेपाली” जस्ता दीर्घदृष्टि बोकेका नीतिहरूले उनको राजनीतिक परियोजनालाई स्पष्ट उद्देश्य दिएको छ ।
यता, उद्देश्यविहीन अराजकताले जनतालाई भ्रममा पार्ने प्रयास भने निरन्तर देखिन्छ। सामाजिक सञ्जालका उत्तेजक नारादेखि तथ्यहीन आरोपसम्म, कतिपय समूहहरू असन्तोषलाई उकासेर वैकल्पिक यथार्थ निर्माण गर्न खोजिरहेका छन्। तर झापा–५ का मतदाता भावनात्मक उत्तेजनाको पछि लाग्ने मनोविज्ञानमा छैनन्। उनीहरूले विगतका उपलब्धि, नेतृत्वको स्थिरता र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता तुलना गरेर निर्णय गरिरहेका छन्। भीडको हल्लाभन्दा परिणामको इतिहासलाई प्राथमिकता दिने चेतना यहाँ विकसित भएको छ।
आज विश्व राजनीतिमा देखिएका उदाहरणहरूले पनि देखाउँछन् ।जब जनताले स्थायित्वको सट्टा अनियन्त्रित आवेग रोज्छन्, परिणाम प्रायः अनपेक्षित र अस्थिर हुन्छ। कतिपय देशहरूमा देखिएको अस्थिर परिणामले लोकतान्त्रिक संस्थामाथि नै प्रश्न उठाएको छ। झापा–५ का जनताले यस्ता परिदृश्यबाट पाठ सिकेका छन्। उनीहरू ‘हुइँमा’ को पछि लागेर देश सक्ने प्रयोगको पक्षमा छैनन्। उनीहरू परीक्षण भइसकेको नेतृत्वको निरन्तरता चाहन्छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्षका रूपमा ओलीले पार्टीलाई स्पष्ट वैचारिक धरातलमा उभ्याएका छन्। राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता र पूर्वाधार विकासलाई एकीकृत एजेन्डाका रूपमा अघि सार्दै उनले राजनीतिक प्रतिस्पर्धालाई नीति–आधारित बहसतर्फ मोड्ने प्रयास गरेका छन्। यही कारण, झापा–५ को जनमत केवल स्थानीय समीकरणको परिणाम होइन, यो राष्ट्रिय दिशाको संकेत पनि हो ।
तर यतिखेर सबैभन्दा ठूलो चुनौती राजनीतिक प्रतिस्पर्धा होइन,निर्वाचन प्रक्रियाको पवित्रता हो। जब जनमत स्पष्ट देखिन्छ, त्यतिबेला त्यसलाई प्रभावहीन पार्ने षड्यन्त्रको आशंका पनि बढ्छ। त्यसैले आजको मूल प्रश्न छ , के हामी बालेट बक्स जोगाउन सक्छौं? यदि बालेट बक्स सुरक्षित रह्यो भने जनताको अभिमत स्वतः सुरक्षित हुन्छ। र जनमत सुरक्षित रह्यो भने झापा–५ मा केपी ओलीको जित सुनिश्चित छ भन्ने आकलन अतिशयोक्ति हुँदैन ।
झापा–५ का मतदाताले बुझिसकेका छन,लोकतन्त्रमा परिवर्तन सम्भव छ, तर परिवर्तनको नाममा अस्थिरता स्वीकार्य हुँदैन । उनीहरूले अराजकता भन्दा उद्देश्य, उत्तेजना भन्दा अनुभव, र क्षणिक लोकप्रियताभन्दा दीर्घकालीन दृष्टिलाई रोज्ने संकेत दिएका छन् ।
अन्त्यमा, वर्तमान सरकार प्रति जनस्तरमा शंका उत्पन्न हुनु अस्वाभाविक होइन। किनकि यही सरकारभित्रै रहेका कतिपय व्यक्तिहरू आगामी चुनावी दौडमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छन्। यस्तो अवस्थामा राज्य संयन्त्रको निष्पक्षता कति सुनिश्चित छ ? कसले कहाँबाट के चलखेल गरिरहेको छ ? यी प्रश्नहरू स्वाभाविक रूपमा उठिरहेका छन् । जनताले बुझ्नुपर्ने कुरा के हो भने सत्ता र चुनावी प्रतिस्पर्धा एउटै वृत्तमा घुम्दा पारदर्शितामाथि प्रश्न उठ्न सक्छ । त्यसैले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली प्रति झापा–५ का जनता आश्वस्त र सुनिश्चित देखिए पनि बालेट बक्सको सुरक्षाप्रति पूर्ण सतर्कता अपरिहार्य बनेको छ। जनादेश स्पष्ट हुन सक्छ, तर त्यसको रक्षा गर्न सचेतना आवश्यक छ। यही कारण, सबै कार्यकर्ता, पर्यवेक्षक र सचेत नागरिकहरूलाई उच्च सावधानीका साथ लोकतान्त्रिक प्रक्रियाको निगरानी गर्नुपर्ने अवस्था देखिएको छ। आम बुझाइ यही छ ।