नयाँ वर्ष सडकमै : विद्यालय शिक्षा ऐनको मागमा शिक्षक–कर्मचारीको आन्दोलन जारी

71 Shares

काठमाडौँ – विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ को सुरुआत पनि सडकमै मनाएका छन्। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन नटुंगिएको भन्दै यो वर्षको नयाँ वर्ष पनि आन्दोलनमै बिताउने बताएका हुन्।

उनका अनुसार विद्यार्थी, शिक्षक–कर्मचारी र सम्पूर्ण विद्यालय शिक्षाको उन्नयनको पक्षमा आवाज उठाउनुपर्ने बाध्यता अझै बाँकी रहेको छ। माग सम्बोधन नहुँदा नयाँ वर्षको सुरुवात पनि सडकबाटै गर्नु परेको उनले बताए।

शिक्षकहरू १३ दिनदेखि काठमाडौँमा लगातार आन्दोलनरत छन्। उनीहरूले चाँडोभन्दा चाँडो विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरिरहेका छन्।

यसै क्रममा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलनलाई थप प्रभावकारी बनाउन ७७ वटै जिल्लाका विद्यालय कर्मचारीलाई काठमाडौंमा हुने आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेको छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त विज्ञप्ति जारी गर्दै ‘मेरो आन्दोलन, मेरो सहभागिता’ भन्ने नारासहित सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई ऐक्यबद्धतासहितको उपस्थितिका लागि अनुरोध गरेका छन्।

सम्बन्धित समाचार

सबै