महाधिवेशन टार्न खोज्नु आत्मघाती : कांग्रेस नेता डा. शेखर कोइराला

28 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै बहाना बनाएर पार्टीको महाधिवेशन टार्न खोज्नु आत्मघाती हुने बताएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। संविधानलाई दक्षिणपन्थी प्रभावबाट जोगाउँदै समसामयिक सुधार गर्दै अघि बढ्न कांग्रेसजन सक्रिय हुनुपर्ने उनले सन्देशमा उल्लेख गरेका छन्।

उनले भनेका छन्, “एक पटक आफू र आफ्नो दलभन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ।”

अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध–२’ को पृष्ठभूमिमा उनले बिपी कोइरालाको ‘राष्ट्रिय मेलमिलाप’ सिद्धान्तको स्मरण गरे। त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा विवेकपूर्ण निर्णय लिन कांग्रेसले आफ्नो गौरवशाली इतिहासबाट पाठ सिक्नुपर्ने पनि उनको धारणा छ।

“हामी अहिले इतिहासको त्यो दोबाटोमा उभिएका छौं, जहाँ सामान्य गल्तीले पनि देश ठूलो जोखिममा पर्न सक्छ,” उनले भने।

राजनीतिमा देखिएको विकृति र विसङ्गति अन्त्य गर्न पार्टीभित्रैबाट सुधारको पहल आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले नागरिकको भरोसा जित्न ‘क्लिन पोलिटिक्स’ अभियान चलाउनुपर्नेमा जोड दिए।

भ्रष्टाचार, दण्डहीनता र अनियमितताले नागरिक र पार्टीबीच दूरी बढेको उल्लेख गर्दै उनले पार्टीभित्र शुद्धिकरण अभियान अपरिहार्य भएको बताए।

सन्देशको अन्त्यमा नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै