काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा हुन्डीको अवैध कारोबारमा संलग्न एक महिला पक्राउ परेकी छन् । गोरखा जिल्ला पालुङटार नगरपालिका–१० की १९ वर्षीया करिना देवकोटा आइतबार पक्राउ परेकी हुन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोड क्षेत्रमा हुन्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जनसेवा प्रहरी वृत्तबाट खटिएको टोलीले उनलाई शंकास्पद गतिविधिका क्रममा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी देवकोटाको साथबाट ९ लाख रुपैयाँ नगद र ६ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको छ । घटनासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ