सीमानाकामा सहजताको लागि रास्वपा मधेश प्रदेशको आग्रह

87 Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश अध्यक्ष तथा सिराहा–४ का सांसद तपेश्वर यादवले मधेश प्रदेश लगायत सीमावर्ती क्षेत्रमा सहज व्यवस्था हुनु पर्ने बताएका छन् ।
गृहमन्त्री सुदन गुरुङसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश अध्यक्ष यादवको नेतृत्वमा गएको टोलीले शनिबार सीमावर्ती समस्याको समाधान र सीमा नाका तत्काल सहज बनाउन ध्यानाकर्षण गराएका हुन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. सय भन्दा बढीको सामान ल्याउन रोक लगाएको तथा भन्सार अनिवार्य गराएको विषयमा कडा आपत्ति जनाउदै प्रदेश अध्यक्ष यादवले पूर्व गृहमन्त्री रवि लामिछानेको कार्यकालमा जस्तै स्पष्ट सीमा निर्धारण गरेर सहज व्यवस्था गर्नुपर्ने बताए ।
उहाँले नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्ध, उत्तर बिहारमा काम गर्ने नेपाली श्रमिकको अवस्था, तथा करिब ४० वर्षअघिदेखि चलिआएको नीति–नियमलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । “१० जनाको गलत कामका कारण १ हजार जनालाई दुःख दिनु हुँदैन,” भन्दै उहाँले वर्तमान सरकार नागरिकको भावना बिपरित कुनै काम गर्न नहुने बताए ।
लागूऔषध नियन्त्रणमा कडाइ गर्न, मनी लाउन्डरिङ रोक्न, विवाह–भोजका सामान ल्याउँदा सम्बन्धित वडाको सिफारिसका आधारमा सहजता दिन, कृषि सामग्री, मलखाद तथा उत्पादनमुखी सामग्रीमा रोक नलगाउन समेत उहाँले आग्रह गरेका छन् ।
त्यसैगरी, आन्दोलनका क्रममा पक्राउ परेका जेन–जेड युवामाथिका मुद्दा निःशर्त खारेज गर्न, सांसदलाई प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरह अनुगमनको अधिकार दिनुपर्ने मधेश प्रदेश अध्यक्ष एबम सांसद यादवले गृहमन्त्री गुरुङ समक्ष माग राखेका छन् ।

सम्बन्धित समाचार

सबै