निर्माण उद्योगमा आपतकाल घोषणा गरी अविलम्ब राहत दिन निर्माण व्यवसायीको माग

102 Shares

मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टीतेल लगायतका इन्धन सामग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै निर्माण व्यवसायी संघ रौतहट नेपाल सरकार सहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
संघले सोमबार बिज्ञप्ति जारी गर्दै इन्धनजन्य सामग्रीहरू सहित निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, छड, ढुंगा लगायतका निर्माण सामग्रीहरूको समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाएको छ । यसका साथै देशका विभिन्न ठाउँमा ठेक्का आयोजनामा देखिएको समस्याले निर्माण उद्योग थप समस्यामा परेको निर्माण व्यवसायी संघ रौतहटका बरिष्ठ उपाध्यक्ष उपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ ।
निर्माण उद्योगको विषम परिस्थितिका विषयमा महासंघ केन्द्रिय कार्यालयले पटक–पटक नेपाल सरकार लगायतका निकायहरूमा पहल गर्दा समेत समस्या समाधान हुन नसकेको रौतहट निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष यादवले बताए ।
ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकांक अनुसार हुने भएतापनि बजारमा निर्माण सामग्रीहरूको अत्यधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको सूचकांकमा उक्त सामग्रीहरूको मूल्य घटेको देखाउने प्रवृत्तिका कारण निर्माण उद्योगमा थप संकट देखिएको उनले बताए ।
इन्धन सहित निर्माण सामग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि र उपलब्धताको अभावले निर्माण व्यवसायीहरूमा ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा आपतकाल घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन संघले जोडदार माग समेत गरेको छ ।
साथै, प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुसार हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजन मार्ग निर्देशिका–२ तत्काल जारी गरी सबै अवरुद्ध ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त समाधान गर्न निर्माण व्यवसायी संघ रौतहटले सरकार समक्ष अपील गरेको छ ।

सम्बन्धित समाचार

सबै