काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा आज पाँच घण्टासम्म विद्युत अवरुद्ध हुने

42 Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौं र ललितपुरका विभिन्न स्थानमा पाँच घण्टासम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको छ। प्राधिकरणले सूचना जारी गर्दै विभिन्न वितरण केन्द्रका फिडरअन्तर्गत पर्ने क्षेत्रहरूमा मर्मत तथा स्तरोन्नतिको कार्यका कारण विद्युत सेवा अवरुद्ध हुने जनाएको हो।

काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रअन्तर्गत थानकोट फिडरको नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रका पोल स्थानान्तरण तथा कन्डक्टर स्तरोन्नतिको कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत बन्द रहनेछ।

त्यसैगरी, रत्नपार्क वितरण केन्द्रअन्तर्गत दरबारमार्ग फिडरका जमलपुल अगाडि, विश्वज्योति हल क्षेत्र, यलो पगोडा, अन्नपूर्ण होटेल र निर्वाचन आयोग अगाडिसम्म बिहान ७ बजेदेखि १० बजेसम्म भूमिगत तार बिछ्याउने कार्यका कारण विद्युत अवरुद्ध हुनेछ।

ललितपुरको लगनखेल वितरण केन्द्रअन्तर्गत इमाडोल २ फिडरमा पर्न आउने ग्वार्को, इमाडोल, कृष्णमन्दिर, ढुंगेसागुँ, बोजेपोखरी, टिकाथली, नर्कटे, लुभ, चाँगाथली क्षेत्रमा दिउँसो २:३० देखि ३:३० बजेसम्म विद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएको छ।

जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारिपाटी, नटोल क्षेत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत अवरुद्ध हुनेछ भने रिङरोड फिडरअन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुर, एभिएम चोक, कुसुन्ति, कान्तिपुर कोलोनी, नखिपोट, शिवचोक र चुम्लुङ्ग भवन क्षेत्रहरूमा ११ बजेदेखि १२ बजेसम्म सेवा बन्द हुनेछ।

प्राधिकरणका अनुसार तोकिएको कार्य समयअगावै सम्पन्न भएमा विद्युत सेवा तोकिएको समयभन्दा छिट्टै पुनः सञ्चालनमा आउनेछ। प्राधिकरणले उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै