
रुपन्देही । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सिध्याउने सपना देख्ने स्वार्थी र प्रतिक्रियावादी तत्वहरू असफल भएको बताएका छन् ।
बुटवलमा एमाले रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै ओलीले एमालेलाई कमजोर बनाउने देशी–विदेशी चलखेल विफल भएको उल्लेख गरे । उनले भने, “एमाले सिध्याउँछु, केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल भएनन् । म धेरै बाँच्छु भनेर होइन, तर मपछि पनि पार्टीमा बलवान नेतृत्व आउनेछ ।”
प्रधानमन्त्री ओलीले समृद्धि र विकासको यात्रालाई कुनै पनि अराजकता वा अफवाहले रोक्न नसक्ने दाबी गरे । उनले विगतका राजतान्त्रिक व्यवस्थाले जनतालाई केही नगरेको आरोप लगाउँदै भने, “राजतन्त्रले जनतालाई पढ्न, काम गर्न, अगाडि बढ्न दियो ? तिरो उठाएर मोजमस्ती मात्र गर्यो ।”
राजतन्त्रका कारण देश विकासको दौडमा पछि परेको उनको आरोप थियो । “जापान, कोरिया, जर्मनी, अमेरिका सबै अघि बढे, तर हामी राजतन्त्रकै कारण पछाडि पर्यौं,” उनले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र जनताको समृद्धिका लागि वर्तमान गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए । “कांग्रेस र एमालेले मिलेर स्थायित्वका लागि सरकार बनाएका हौं, यो सरकार ढल्न त के, हल्लिन पनि हल्लिँदैन,” उनले प्रस्ट पारे ।
कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका विकास र सुशासनका कामबारे गलत प्रचारविरुद्ध सतर्क रहन आह्वान गरे । एमाले सचिव पद्मा अर्यालले जनताका पक्षमा गरिएका कामको जानकारी दिन आफूहरू सधैं तयार रहेको बताइन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रममा ओलीले लुम्बिनीमा भएको पूर्वाधार विकासको पनि चर्चा गरे ।