राज्यविरुद्धको अभियोगमा दुर्गा प्रसाई सरकारी वकिलको कार्यालयमा, आजै म्याद थपको तयारी

285 Shares

काठमाडौं । भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईलाई आज झापाबाट काठमाडौं ल्याई सरकारी वकिलको कार्यालयमा प्रस्तुत गरिएको छ । उनलाई यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखी आवश्यक प्रक्रिया पूरा गरिएको थियो ।

प्रहरीका अनुसार, राज्यविरुद्धको अपराध र अभद्र व्यवहारको अभियोगमा अनुसन्धान अगाडि बढाउन प्रसाईलाई आजै जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले उक्त जानकारी दिएका हुन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर मानिएका प्रसाई केही समयदेखि फरार थिए । भारतीय प्रहरीको सहयोगमा उनलाई आसामबाट पक्राउ गरी आज बिहान झापा ल्याइएको हो । झापा ल्याइसकेपछि उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको थियो ।

प्रसाईसँगै उनका अंगरक्षक दीपक खडकालाई समेत पक्राउ गरी काठमाडौं ल्याइएको छ । दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

तीनकुनेको घटनापछि प्रदर्शन उग्र बन्दै जाँदा दुई जनाको ज्यान गएको थियो भने सुरक्षाकर्मीसहित १३० भन्दा बढी व्यक्ति घाइते भएका थिए । सो घटनामा संलग्न रहेको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशम्शेर राणा समेत प्रहरी हिरासतमा छन् । उनीहरूमाथि पनि राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको छ ।

सम्बन्धित समाचार

सबै