
काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिंसा र अराजक गतिविधिबाट हिन्दु राष्ट्र स्थापना गर्ने प्रयासको तीव्र विरोध गरेका छन् । उनले मान्छेलाई घरभित्रै आगो लगाएर वा अरूको घरमा आगजनी गरेर हिन्दु राष्ट्र निर्माण गर्न खोज्नु गलत रहेको स्पष्ट पारे ।
“मान्छेलाई घरभित्रै आगो लगाएर मारिएको छ, अरूको घर जलाइएको छ — के हिन्दु धर्मले यही भन्छ ?” भन्दै गृहमन्त्री लेखकले हिंसात्मक तरिकाले धर्म वा राष्ट्रको नाममा राजनीति गर्न नहुने बताए ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका माग गर्दै भएको प्रदर्शनलाई उनले संविधान र लोकतान्त्रिक व्यवस्थामाथिको हमला भन्दै आलोचना गरे । उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु हुनुका साथै सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
शुक्रबार संसदको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै लेखकले भने, “लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्न पाइन्छ, तर त्यो हिंसाको बाटो भएर होइन । लोकतन्त्रको विकल्प फर्कन मिल्दैन ।”
तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाई भारतबाट पक्राउ गरी झापा हुँदै काठमाडौं ल्याइएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशम्शेर राणा लगायत पनि पक्राउ परिसकेका छन् ।