
मुस्ताङ — प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीस्थित सदार्वत गुठीको ठूलो हिस्सा जग्गा निजी स्वामित्वमा रूपान्तरण गरिएको छ।
मुक्तिनाथ विकास समितिका सदस्यसचिव तथा मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालका अनुसार, म्याग्दीका राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा फैलिएको २८ हजार ८९३ रोपनी क्षेत्रफलमध्ये १७ हजार ५४५ रोपनी गुठी जग्गा रैताने बनाइएको हो।
तत्कालीन राजाले मुक्तिनाथ मन्दिरको सेवा–सुविधाका लागि गुठी संस्थानमार्फत उक्त क्षेत्रको खेतीयोग्य जमिन र वनजङ्गल मन्दिरको नाममा दिएको ऐतिहासिक पृष्ठभूमि छ। गुठी नियमानुसार स्थानीयलाई भोगचलनको अधिकार दिइए पनि आम्दानीको हिस्सा मन्दिरमा बुझाउने व्यवस्था थियो।
हाल गुठी संस्थानको अक्षय कोषमा मालपोत कार्यालय म्याग्दीमार्फत ११ लाख ७५ हजार ७१३ रुपैयाँ जम्मा भए पनि त्यसबाट मुक्तिनाथ मन्दिरले कुनै हिस्सा नपाएको सदस्यसचिव अर्यालले बताए।
अहिले गुठी संस्थानको नाममा अझै ११ हजार २४८ रोपनी जग्गा सुरक्षित रहेको छ। मुक्तिनाथ मन्दिरको नाममा साबिक मुक्तिनाथ गाविस–१ (कित्ता नं १ देखि ३३) मा ४९३ रोपनी १३ आना र मुक्तिनाथ धर्मशालाको नाममा ६ रोपनी १२ आना जग्गा रहेको जानकारी समेत समितिले दिएको छ।