वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

223 Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यो घोषणा गरेका हुन् ।

उनले वैशाख २१ गतेसम्म संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटाउन, पक्राउ परेका नेताहरू रिहाइ गर्न सरकारसँग माग गरेका छन् । यदि माग पूरा नभए आफूहरूले वैशाख २२ गतेको दिन सामूहिक गिरफ्तारी दिने उनले बताए ।

‘हाम्रो अभियान सफल हुन्छ । हरेस नखानुस् । आजको आज, भोलिको भोलि भन्ने हुँदैन । सबै कुराको समय आउँछ। वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरूको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजक ज्यूको नजरबन्द खुलाएन भने, बन्दी बनाइएका साथीहरूलाई मुक्त गराएन भने २२ गतेको दिनमा हामीले तीनकुनेमा साहदत प्राप्त गर्नुभएका वीर सहीदहरूको रगतले लतपतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिने हो,’ उनले भने।

उनले २१ गतेसम्म माग पूरा नभए सबैभन्दा पहिले आफूले गिरफ्तारी दिने बताए । ‘सबैभन्दा पहिले मैले नै गिरफ्तारी दिन्छु, म ७८ वर्ष पुगें । हामीले ज्यान माया मारेर आन्दोलनमा जाने हो । त्यसपछि को को आउनु हुन्छ, आउनुस्,’ उनले भने ।

सम्बन्धित समाचार

सबै