राप्रपाको बल्खु प्रदर्शन : सरकारले करिब ७ हजार सुरक्षाकर्मी परिचालन

130 Shares

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीयता खारेजी र राजसंस्था पुनर्स्थापनाजस्ता एजेन्डासहित मंगलबार काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको जनप्रदर्शन र आमसभालाई लिएर सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रदर्शनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न करिब ७ हजार सुरक्षाकर्मी खटाइएको छ, जसमा नेपाल प्रहरीका ५ हजार र सशस्त्र प्रहरीका १५ सय जना सहभागी हुने छन्। कालीमाटी, सानेपा, कलंकीजस्ता क्षेत्रहरूबाट जुलुससहित कार्यकर्ता बल्खु पुग्ने भएकाले त्यहाँ सञ्चालन हुने सवारीसाधनलाई प्रहरीले वैकल्पिक मार्गतर्फ डाइभर्ट गरेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै आसपासका सपिङ मल, सरकारी कार्यालय, ठूला भवन क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जनाएका छन्।

राप्रपाको आमसभा बल्खुमा विभिन्न स्थानबाटको र्‍यालीमार्फत रूपान्तरण हुनेछ भने सभामा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टीले सबै सहभागीलाई राष्ट्रिय वा पार्टीको झण्डासहित सभामा आउन आग्रह गरेको छ।

यसअघि नारायणहिटी दरबार क्षेत्र र भृकुटीमण्डपमा सभा गर्न अनुमति नपाएपछि अन्ततः बल्खुमा सभा गर्न लागिएको हो। सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सबै किसिमका घुसपैठ रोक्ने र शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेको छ।

सरकारले तीनकुनेमा अघिल्लो प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनालाई मध्यनजर गर्दै बल्खु र आसपासका क्षेत्रमा व्यापक रूपमा सुरक्षा सतर्कता अपनाएको छ।

सम्बन्धित समाचार

सबै