काठमाडौं, नेपाली सुद्ध भाषामा — प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रक्रिया आजैदेखि सुरु भएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
“धरानबासीले सफा र सुरक्षित खानेपानी पिउन पाउनै पर्छ,” प्रधानमन्त्री ओलीले भने, “आजैबाट यो प्रक्रिया अगाडि बढेको छ। संघीय सरकारले बजेटको व्यवस्थासहित अन्य आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीसम्म पुर्याइदिनुहोला।”
धरानमा खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संघीय सरकारले यसअघि नै तयार गरिसकेको छ। साथै, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत शैलीको सट्टा आधुनिक प्रविधियुक्त ल्याण्डफिल्ड साइट निर्माण गर्नुपर्नेमा पनि जोड दिए।











