वर्षा नहुँदा र डढेलो बढ्दा काठमाडौंको वायु प्रदूषण उच्च, स्वास्थ्य मन्त्रालयको सतर्कता आग्रह

235 Shares

काठमाडौं । एक सातादेखि वायु प्रदूषण बढ्दो क्रममा रहेको काठमाडौं उपत्यका आइतबार विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था ‘आइक्यू एअर’ का अनुसार काठमाडौंको ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) २११ पुगेको छ, जुन ‘अति अस्वस्थकर’ श्रेणीमा पर्दछ।

सबैभन्दा प्रदूषित शहरको सूचीमा भारतको दिल्ली पहिलो स्थानमा छ जहाँ AQI २९० रहेको छ। पाकिस्तानको लाहोर १९९ AQI सहित तेस्रो स्थानमा रहेको छ।

काठमाडौंमा लामो समयदेखि वर्षा नहुनु, विभिन्न जंगलमा लागेको डढेलो र त्यसबाट उत्पन्न धुवाँका कारण आकाशमा धुलोको मात्रा अत्यधिक भएपछि वायु प्रदूषण उच्च भएको बताइएको छ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार ० देखि ५० सम्मको AQI मात्र स्वास्थ्यका लागि सुरक्षित मानिन्छ। तर हालको २११ AQI अत्यन्त अस्वस्थकर भएकोले स्वास्थ्य मन्त्रालयले जनसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले अत्यावश्यक नभई बाहिर ननिस्कन र निस्कनै परे एन९५ मास्कको प्रयोग गर्न सुझाव दिएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती र दीर्घरोगीहरूलाई अझै बढी सावधानी अपनाउन भनिएको छ।

सम्बन्धित समाचार

सबै