धरौटी आदेश बदर गर्दै लामिछाने थुनामा, सोमबार अदालतमा उपस्थित गराइने

124 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवा लगिएको छ। सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर (बुटवल इजलास) ले थुनामा पठाउने आदेश दिएपछि शुक्रबार राति निवासबाट पक्राउ परेका उनलाई शनिबार बिहान यती एयरलाइन्सको विमानमार्फत रुपन्देही लगिएको हो।

पक्राउपछि लामिछानेलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धकसमेत हुन्।

अब लामिछानेलाई भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा पठाइनेछ। तर शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनी दुई दिनसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहनेछन्। जिल्ला प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले सोमबार मात्रै उनलाई अदालतमा उपस्थित गराएर कारागार चलानको प्रक्रिया अघि बढाइने जानकारी दिए।

यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै सरकारी वकिलको कार्यालय र लामिछाने दुवै उच्च अदालत गएका थिए। अदालतले धरौटी आदेश खारेज गर्दै थुनामा पठाउने निर्णय गरेको हो।

उक्त प्रकरणका अर्का आरोपित पूर्व डीआईजी छविलाल जोशीले समेत जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए, तर अदालतले जिल्ला अदालतको निर्णय सदर गरेको छ।

सम्बन्धित समाचार

सबै