तनहुँ । तनहुँमा शैक्षिक सत्र २०८२ सुरु हुनुअघि नै आवश्यक पाठ्यपुस्तक जिल्ला भित्रिइसकेको छ। पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठका अनुसार सामुदायिक विद्यालयका सबै (१०० प्रतिशत) र निजी विद्यालयका करिब ९५ प्रतिशत पाठ्यपुस्तक आइसकेका छन्।
जनक शिक्षा सामग्री केन्द्रमार्फत सबै पुस्तक जिल्ला आइपुगेका हुन्। श्रेष्ठले निजी विद्यालयका केही पुस्तक मात्र आउन बाँकी रहेको जानकारी दिए। उनका अनुसार जिल्लाभर रहेका ६० पुस्तक व्यवसायीहरूले केही दिनमै बिक्री तथा वितरण प्रक्रिया सुरु गर्ने तयारी गरेका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले समयमै पाठ्यपुस्तक आएकाले यस वर्ष विगतका जस्तो समस्या नहुने बताए। इकाइका अनुसार तनहुँमा ५५१ सामुदायिक र ११९ निजी विद्यालय छन्।
आँबुखैरेनी गाउँपालिका–४ स्थित छिम्केश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले विद्यालयमै आजै पुस्तक आइपुग्ने र भोलिदेखि विद्यार्थीलाई वितरण थालिने जानकारी दिए। वैशाख २ गतेदेखि कक्षा सञ्चालन हुने जानकारी दिंदै उनले भर्ना अभियानसँगै पुस्तक वितरणको काम पनि अघि बढ्ने बताए।
यस्तै, कन्यादेवी माध्यमिक विद्यालय, छिम्केश्वरीका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले समयमै पुस्तक आएकाले पढाइमा सहजता हुने विश्वास व्यक्त गरे।