शिक्षक महासंघको ऐन जारी गर्न माग, सरकारद्वारा वार्ताका लागि आह्वान

314 Shares

काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षक महासंघले सरकारको आह्वानलाई अर्थहीन बताउँदै शिक्षा ऐन तुरुन्त जारी गर्न माग गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको थियो। तर, महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले पहिले नै वार्तामा सहमति भइसकेको भन्दै अब पुनः छलफल आवश्यक नरहेको बताएका छन्। ‘सहमति भइसकेको छ, अब ऐन जारी गर्नुपर्छ, त्यसका लागि मात्र मन्त्रालय जान्छौं,’ उनले भने।

शिक्षा ऐनको माग राख्दै शिक्षकहरू दुई महिनादेखि आन्दोलनरत छन्। बुधबारदेखि अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु भएको छ। माइतीघर मण्डल हुँदै बबरमहल, नयाँ बानेश्वरसम्म शिक्षकहरूले आज पनि प्रदर्शन गरेका छन्। उनीहरू बाँसुरी बजाउँदै, मादल घन्काउँदै आफ्ना मागका नारासहित प्रदर्शनमा सहभागी भएका छन्।

यसअघि, २०८० असोज ५ गते सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको थियो। सोही सहमति अनुसार ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले दबाब बढाएका हुन्। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको प्रक्रिया अघि बढिरहेको भन्दै शिक्षक प्रतिनिधिहरूलाई छलफलका लागि मन्त्रालयमा स्वागत गरिएको बताएका छन्।

आन्दोलनलाई शान्तिपूर्ण बनाउन शिक्षकहरूले ८ सय स्वयंसेवक परिचालन गरेको दाबी गरेका छन्। तर, सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ। संसदको हिउँदे अधिवेशन भर्खरै अन्त्य भएकाले तत्काल ऐन जारी गर्न कठिन रहेको सरकारको भनाइ छ। तर, शिक्षकहरूले अध्यादेशमार्फत भए पनि ऐन ल्याउनुपर्ने माग गरेका छन्। यस विषयमा संसदीय समितिले भने असहमति जनाएको छ।

सम्बन्धित समाचार

सबै