काठमाडौं । व्यवसायी अजयराज सुमार्गीले सरकारलाई कर तिर्न अटेर गरेका छन्। उनका स्वामित्वमा रहेको मुक्ति श्री प्रालिले २० करोड ३५ लाख रुपैयाँभन्दा बढी कर बुझाउन बाँकी रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।
लामो समयदेखि बक्यौता कर नतिरेपछि राजस्व कार्यालयले आउँदो १५ दिनभित्र कर बुझाउन उनलाई समय दिएको छ।
यदि कर नबुझाए भने बैंक खाता र घरजग्गा रोक्का गरी लिलामी प्रक्रिया अघि बढाउने चेतावनी कार्यालयले दिएको छ। यसैगरी, सुमार्गीलाई मुलुकबाहिर जानसमेत रोक लगाइएको छ।
नवीकरण शुल्क बुझाउन नसकेपछि सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटलाइट टेलिकम कम्पनीको लाइसेन्स सरकारले खारेज गरेको छ। उनले हेलो नेपाल ब्रान्डबाट सीमित मोबाइल सेवा सुरु गरेका थिए।
सुमार्गी उच्च राजनीतिक पहुँच भएका रहस्यमयी व्यवसायीका रूपमा चिनिन्छन्। छोटो समयमा गरेको अस्वभाविक आर्थिक विस्तारको रहस्य अझै खुल्न सकेको छैन।
सुमार्गीलाई विदेशबाट प्रत्यक्ष वैदेशिक लगानीको रूपमा ठूलो रकम नेपाल ल्याएको आरोप लाग्दै आएको छ। उनले ट्याक्स हेभन मुलुक भर्जिन आइल्यान्डबाट स्रोत नखुलेको रकम नेपाल ल्याएको आरोप पनि लागेको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट रहेका सुमार्गी अहिले गुमनाम बनेका छन्।