ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी बढ्दै, सेवाग्राही सन्तुष्ट

134 Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको हटलाइन सेवा (११५१) प्रभावकारी देखिएको छ। काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्याका समाधानका लागि स्थापना गरिएको हटलाइनमा उल्लेख्य मात्रामा गुनासो दर्ता भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमार्फत आएका गुनासोहरू छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिएका छन्। हटलाइनमा कार्यरत रामकृष्ण पौडेलका अनुसार गुनासो प्राप्त भएपछि तत्कालै सम्बन्धित कार्यालय तथा वितरण केन्द्रका प्रमुखलाई जानकारी गराई समाधान प्रक्रिया अघि बढाइन्छ।

फागुन महिनामा मात्र १,९०२ उजुरी दर्ता भएका थिए भने चैत महिनामा एक हजारभन्दा बढी उजुरी आइसकेको छ। हटलाइनमा ट्रान्सफर्मर जलेको, पोल ढलेको, विद्युत् आपूर्तिमा अवरोध, भोल्टेज कम आउने जस्ता समस्या बढी उठाइएको छ।

फोनबाहेक फेसबुक, भाइबरजस्ता डिजिटल माध्यमबाट पनि सेवाग्राहीहरूले गुनासो गरिरहेका छन्। बागमती र मधेस प्रदेशबाट सबैभन्दा बढी गुनासो आएको हटलाइनमा कार्यरत एकबहादुर महर्जनले जानकारी दिए। गुनासो सम्बोधन गर्न थप जनशक्ति परिचालन गरिएको छ। मन्त्रालयमै सिधैँ गुनासो गर्न सक्ने व्यवस्था भएपछि जिल्लास्तरीय कार्यालयहरूमा हुने ढिलासुस्ती कम हुँदै गएको छ।

सम्बन्धित समाचार

सबै