काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू आज (बिहीबार) संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा एउटै मञ्चमा देखिएका छन्। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मेलनमा सहभागी भएका हुन्।
काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा जारी सम्मेलनमा नेपालमा संक्रमणकालीन न्याय प्रक्रिया र द्वन्द्वपीडितको सत्य, न्याय र परिपूरणीय अधिकारका विषयमा छलफल भइरहेको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसदहरू र द्वन्द्वपीडित प्रतिनिधिहरू पनि सहभागी छन्।
पूर्वप्रधानमन्त्री प्रचण्ड भने समय अभावका कारण आफ्नो भनाइ राखेर कार्यक्रमबाट बाहिरिएका छन्। केही दिनअघि मात्र यी तीन नेताबीच संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमति भएको थियो।