
भक्तपुर – मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ क्षेत्रमा भएको एक व्यक्तिको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।
भक्तपुर प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६६ वर्षीय ओमप्रकाश राईको हत्या आरोपमा ५७ वर्षीय हिमाल बुढा मगरलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, १०० रुपैयाँ खोसिएको विवादका कारण बुढा मगरले ढुङ्गाले प्रहार गरी राईको हत्या गरेको खुलेको छ।
यस्तै, फागुन २७ गते सानोथिमिमा ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न दुई अभियुक्त पक्राउ परेका छन्। प्रहरीका अनुसार, सर्लाही लालबन्दी नगरपालिका–९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ का २४ वर्षीय अनिश तामाङ लाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले अदालतबाट अनुमति लिएर तीनै अभियुक्तलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने प्रक्रिया अघि बढाएको जनाएको छ।