खानेतेल निर्यात बढ्दा पनि नेपालको व्यापार घाटा उच्च

61 Shares

काठमाडौं – पछिल्लो आठ महिनामा नेपालले करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ। विदेशबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपछि निर्यात गर्दा खानेतेल व्यापार उल्लेखनीय रूपमा वृद्धि भएको हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात ५७.२० प्रतिशतले बढेको छ, भने आयातमा ११.२० प्रतिशत वृद्धि भएको छ। पछिल्लो आठ महिनामा कुल १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको निर्यातमध्ये भटमास (सोयाबिन) तेलको मात्रै ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको हिस्सा रहेको छ। त्यसैगरी, सूर्यमुखी तेलको ७ अर्ब ९८ करोड २३ लाख, अलैंचीको ५ अर्ब ८३ करोड ७३ लाख र कार्पेटको ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

तर, व्यापार घाटा भने अझै उच्च छ। चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ। भारतसँग मात्रै ५ खर्ब ६३ अर्ब ६७ करोडको घाटा छ, जहाँ ६ खर्ब ८८ अर्ब ६८ करोडको आयात र १ खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ। चीनसँग २ खर्ब १९ अर्ब १८ करोडको आयात हुँदा मात्र २ अर्ब १२ करोडको निर्यात भएको छ, जसले २१ अर्ब ७० करोडको व्यापार घाटा देखाएको छ।

नेपालले पछिल्लो आठ महिनामा ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँको डिजेल, ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेको छ। यस्तै, ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँको विद्युतीय सवारीसाधन र २ अर्ब ११ करोड रुपैयाँ बराबरका अन्य सवारीसाधन आयात भएका छन्। १४ लाख ७ हजार ७८ वटा स्मार्टफोनको मात्र २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँको आयात भएको छ।

अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्स लगायतका ३४ वटा मुलुकहरूसँग भने नेपालले व्यापार नाफा कमाएको देखिएको छ।

4o

सम्बन्धित समाचार

सबै