त्रिवि आङ्गिक क्याम्पसमा आज स्ववियु चुनाव, अमृत साइन्समा स्थगित

65 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज (मंगलबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । तर, सुरक्षाका कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा निर्वाचन स्थगित गरिएको छ ।

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ, जहाँ २१ सदस्यीय स्ववियु चयन गरिनेछ । तीमध्ये ११ जना प्रत्यक्ष र १० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा ६,१४६ मतदाता रहेको जनाइएको छ, जसले मतदानमार्फत नेतृत्व चयन गर्नेछन् ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुनेछन् भने उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछन् । कुनै संगठनले बहुमत पाएमा उपाध्यक्ष र उपसचिव सोही संगठनबाट चयन हुनेछ, अन्यथा सहमतिबाट टुंगो लगाइनेछ । सहमति नभएमा २१ सदस्यीय समितिको मतदानबाट उपाध्यक्ष र उपसचिव चयन गरिने व्यवस्था छ ।

विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गरिनेछ, जसका लागि २० वटा मेसिन प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले नक्कली परिचयपत्र जारी गरेको भन्दै तालाबन्दी गरिएको हो । निष्पक्ष छानबिनको माग गर्दै संगठनले विरोध जारी राखेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आज हुने स्ववियु निर्वाचनको अनुगमन गर्ने भएको छ ।

सम्बन्धित समाचार

सबै